
काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका छन् ।
मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार उनको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । उनले सो हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको स्रोतको भनाइ छ ।