• २०८३ असार १२
  • 2026 June 26, Friday

अडियोमा रहेको आवाज ढाकाकुमारकै रहेको रास्वपाको विश्लेषण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि पार्टीको अनुशासन समितिले छानबिन सकेको छ । व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे हतारमा छानबिन गरेर आजै प्रतिवेदन बुझाउन लागिएको हो ।

रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए । निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा काम गरिरहेको छ ।

आज अबेरसम्म प्रतिवेदन पठाइने समितिका संयोजक भरत देवकोटाले जानकारी दिए ।

समितिले अडियोमा रहेको आवाज ढाकाकै रहेको विश्लेषण गरेको छ । यद्यपि समयाभावका कारण अडियोको फरेन्सिक टेस्ट गरिएन । फरेन्सिक टेस्टको प्रक्रियामा जाँदा समय लाग्न सक्ने भएकाले त्यसलाई थाँती राखिएको हो ।

ढाकाले अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन् । उनले पार्टीलाई पठाएको स्पष्टीकरणमा पनि अडियो सम्पादित रहेको उल्लेख गरेका थिए । तर, अनुशासन समितिले ढाकाको सो भनाइमा विश्वास गरेको छैन ।

समितिले दिने प्रतिवेदनका आधारमा भोलि नै केन्द्रीय समिति बसेर कारबाहीको विषयमा निर्णय लिइने बुझिएको छ ।