युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाउने व्यक्ति गिरफ्तार

युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाउने व्यक्तिलाई अमेरिकामा गिरफ्तार गरिएको छ ।

चुहाइएका दस्तावेजबाट अमेरिकाले संकलन गरेको गोप्य सूचनाहरू विश्वभर फैलिएपछि अमेरिका अहिले तनावमा छ । त्यतिमात्र नभएर दस्तावेजले किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ ।

ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ । गोप्य दस्तावेज चुहाएको आरोपमा अमेरिकी हवाई सेनाकै सदस्य २१ वर्षीय अमेरिकी एयर फोर्स न्याश्नल गार्ड ज्याक टेइसेइरा गिरफ्तारमा परेका छन् ।

सुरुवातमा अनलाइन च्याट ग्रुपमा अमेरिकी दस्तावेज सार्वजनिक गर्ने व्यक्ति उनी नै भएको अमेरिकी प्रहरीले बताएकाे छ । उनलाई जासुसीसम्बन्धी कानुनका आधारमा अभियोग चलाइनेछ जसले गोप्य रक्षा सूचना चुहाउनुलाई अपराधका रूपमा हेर्छ ।

सार्वजनिक भिडियाे अनुसार बिहीबार उनलाई डाइटन नगरस्थित उनकै घरबाट प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।

बीबीसीका अनुसार अमेरिकी गोप्य दस्तावेज चुहाउने टेइसेइरा मासाचुसेट्स एयर न्याश्नल गार्डको गुप्तचरी शाखाका सदस्य हुन् । उनी त्यहाँ आईटी विशेषज्ञको रुपमा कार्यरत छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार चुहावट भएको अमेरिकी गोप्य दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्‍रेस रुस अनुकूल बनेको उल्लेख छ भने उनका गतिविधि पनि निगरानी गरिएको देखिएको छ ।

युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो र अमेरिकाको सहयोग साथै बेलायत र दक्षिण कोरिया, चीन लगायत युरोपका केही मुलुकको युक्रेन युद्धप्रतिको दृष्टिकोण, गुप्तचर निकायका विश्लेषण पनि अमेरिकी दस्तावेजमा भएको बताइएको छ ।

चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीहरू पनि छन् । सो दस्तावेजमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुदबारे जानकारीहरू छन् । युक्रेनलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेख उक्त दस्तावेजमा छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७