कांग्रेस इमान्दार रह्यो भने मधेशमा जनमतको मुख्यमन्त्री बन्छ : सीके राउत

काठमाडाैं । सत्ताबाट बाहिरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले आगामी वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनपछि आफ्नो पार्टीबाट मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।

यस विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सहमति भएको दाबी पनि उनले गरेका छन् ।

‘मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचनपछि आफैँ बहिर्गमन हुँदै छ’, राउतले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार रहने हो भने उपनिर्वाचनपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दै छ, नभए कांग्रेसको ।’

प्रधानमन्त्री आफैँ कति दिन टिक्ने ठेगान नभएको टिप्पणी गर्दै अध्यक्ष राउतले यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ नभएको उल्लेख गरेका छन् ।

बारा-२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत सरकारबाट बाहिरिएको हो । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले यही चैत १७ गते पदबाट राजीनामा दिएका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१