‘जारी’ले दुई दिनमै ४ करोड बढी कमायो

काठमाडौं । नयाँ वर्षको दिन शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको पहिलो दिनको कमाइ दुई करोड १५ लाख रुपैयाँ ग्रस हाराहारी रह्यो । दोस्रो दिन शनिबारको कमाइ पनि दुई करोडभन्दा माथि छ ।

पहिलो सप्ताहन्त अर्थात दुई दिनमै फिल्मको कुल कमाइ चार करोड रुपैयाँ ग्रसभन्दा माथि रह्यो । काठमाडौंसहित विशेषगरी पूर्वी सहरका हलहरु शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनमा आए । यसबाहेक पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्ज लगायतका सहरमा पनि फिल्मको ओपनिङ आक्रामक रह्यो ।

तेस्रो दिन आइतबार पनि काठमाडौं र पूर्वी सहरका मल्टिप्लेक्सको अकुपेन्सी उच्च छ । विशेषगरी लिम्बू समुदाय बहुल क्षेत्रका हलले राति ११ बजेसम्मका शो पनि देखाइरहेका छन् । सकारात्मक फिल्म समीक्षा, ट्रेलरबाट प्राप्त प्रतिक्रिया, दयाहाङ राई र मिरुना मगर स्टारर ‘कबड्डी’ श्रृंखलाको क्रेजले ‘जारी’लाई फाइदा पुग्यो ।

यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको चलनलाई दृश्यभाषाको रुप दिएको छ । विजय बराल, प्रेम सुब्बा, रोयदीप लगायतका कलाकार पनि शीर्ष भूमिकामा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७