नेपाली र भारतीय निर्माताबीच एक अर्काको फिल्म ओटीटी र हलमा रिलिज गर्ने सहमति

काठमाडौँ । नेपाल र भारतका फिल्म सम्बद्ध दुई संस्थाले एक अर्काेको फिल्म रिलिज गर्ने सहमति गरेका छन् । उनीहरुबीच आफ्नो देशमा रहेका ओटीटी र हलमा रिलिज गर्ने सहमति भएका हो ।

आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो सहमति भएको हो । नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई मुलुकबीच संस्कृतिसँगै फिल्मको बजार आदानप्रदान गर्ने सहमति भएको छ ।

समिटमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्धिपक्षीय सहमतीलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे । नेपालमा छायांकन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको चर्चा गरे ।

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन् । उनका अनुसार नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटीटीमा रिलिज गरिनेछ । यसका लागि आफूहरुसँग १५ देखि १८ वटा ओटीटी प्लेटफर्म रहेको जानकारी उनले दिइन् ।

‘राम्रा र स्तरीय नेपाली फिल्मलाई दक्षिण भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने हाम्रो तयारी छ । जतिसक्दो चाँडो फिल्म रिलिज हुनेछ’ उनले भनिन्, ‘जसले गर्दा नेपाली फिल्म पर्यटनदेखि बजारीकरणसम्म फाइदा हुने हामीलाई विश्वास छ ।’

एफटीपीसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ । टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ । समारोहाम अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१