
काठमाडौं । बलिउडकी अभिनेत्री इलियाना डिक्रूज आमा बन्दै छिन् । इलियानाको विवाह भएको छैन, फेरिपनि उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । इन्स्टाग्राममा बच्चाको लुगाको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘छिट्टै आउँदैछ । आफ्नो सानो प्रियसँग भेट्न धेरै प्रतीक्षा गर्न सक्दिनँ।’
उक्त बच्चाको लुगामा लेखिएको छ, ‘एडभेन्चर सुरू हुँदैछ।’ इलियानाले तस्बिर सार्वजनिक गरेसँगै बधाई आइरहेको छ ।
इलियानाकी आमा समीरा डिक्रूजले उक्त पोस्टमा कमेन्ट गर्दै लेखेकी छन्, ‘मेरो नातिलाई छिट्टै यस दुनियाँमा स्वागत गरिनेछ।’
उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । केही समयअघि दुवै विक्की कौशल र कट्रीनासँग देखिएका थिए ।
इलियाना पछिल्लो समय फिल्म ‘द बिग बुल’ मा देखिएकी थिइन् । हालै उनको ‘सब गजब’ गीत सार्वजनिक भएको थियो ।
इलियाना रणदीप हुड्डासँग फिल्म ‘अनफेयर एन्ड लभली’ मा देखिनेछिन् ।