
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अजित कुमार नेपाल आएका छन् । अजित कुमारको शीर्ष भूमिका रहने फिल्म ‘मिराई’को छायांकन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ ।
अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् । काठमाडौंमा चार दिनसम्म छायांकन हुने निर्माण नियन्त्रक मनोज जोशीले जानकारी दिए ।
अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुर हुँदै बाइक हाँकेर काठमाडौं आइपुगेका हुन् । तमिल फिल्मका यी चर्चित अभिनेताको ‘भलिमई’ नेपालमा रिलिज भएको उनको पछिल्लो फिल्म हो ।
अजित कुमारको पछिल्लो समय फिल्म ‘थुनिभु’ प्रदर्शन भएको थियो । उनी अभिनेताका साथै कार रेसर पनि हुन् ।