गुल्मीको रूरूमा सडेगलेको अवस्थामा शव फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार दिउँसो करिब साढे दुई बजे जिल्लाको रूरूक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानीयाटे खोलामा शव फेला परेको हो ।

गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठका अनुसार वेवारिसे अवस्थामा फेला परेको शव पहिचान गर्न सक्ने अवस्थामा छैन ।

टाउको देखि शरीरका मांशपेशी समेत सकिएर कंकालमात्रै बाँकी रहेको अवस्थामा शव रहेका कारण महिला र पुरूष समेत छुट्याउन नसकिएको इन्स्पेक्टर श्रेष्ठले बताए ।

खोलामा दुर्गन्धित अवस्थामा शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पछि प्रहरीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी पठाएको छ ।

जिल्ला प्रहरीले कोही कसैको आफन्त नातेदार हराएका छन् भने सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।

यसबारेमा सामाजिक सञ्जालमार्फत पनि सुचना जारी गरिएको र प्रहरीका तल्लो निकायहरुमा पनि सूचना पठाएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७