दोस्रोपटक आमा बन्दै अभिनेत्री गरिमा पन्त

काठमाडौं । पछिल्लो समय अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बन्ने भएकी छन् ।

२०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले आफू फेरि आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं ।’ उनले बिहिबार इन्स्टाग्राममा पोष्ट गरेको छोरीसँगको एक तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ ।

अभिनयमा राम्रो क्रेज हुँदाहुँदै बेल्जियम हानिएकी उनले त्यही निवासी हरि थपलियासँग विवाह गरेकी हुन् । बेल्जियममा उनीहरुको ब्यवसाय रहेको बताइन्छ । गरिमाको अभिनय करिअरको उत्कृष्ट फिल्म ‘झोला’ हो ।

यो फिल्मबाट उनले राष्ट्रिय अवार्डदेखि सार्क अवार्डसम्म जित्न सफल भएकी थिइन् । उनले ‘तीन घुम्ती’, ‘जीवन मृत्यु’, ‘प्रितीको फूल’, ‘सुन्दर मेरो नाम’ लगायत थुप्रै फिल्म र दर्जनै सानो पर्दाको सिरियलमा अभिनय गरेकी छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१