
काठमाडौं । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ । दयाहाङ राई र मिरुना मगर शिर्ष भूमिकामा रहेको चलचित्रले बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता रामबाबु गुरुङले जानकारी दिए ।
शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको यो फिल्मको अकुपेन्सी नयाँ रिलिज भन्दा पनि उच्च देखिएको छ । शो पनि नयाँ रिलिजभन्दा उच्च नै छ । नेपालसहित अन्तर्राष्ट्रिय बजारमा समेत आक्रामक कमाइ गरेको उपेन्द्र सुब्बा निर्देशित जारीले मल्टिप्लेक्स र सिंगल स्क्रिनमा समेत राम्रै कमाइ गर्यो ।
नेपालसहित अमेरिका, अष्ट्रेलिया र युरोपमा रिलिज भएको यो फिल्म पछिल्लो साता बेलायत र मध्यपूर्वमा समेत रिलिज भएको छ । निर्देशक सुब्बासहित दयाहाङ राई र मिरुना मगर यतिबेला बेलायतमा फिल्मको प्रचारप्रसारमा छन् ।