एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया टुर

काठमाडौ‌ । चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सकिएको छ । १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगीतिक यात्रा आइतबार एडलेडमा पुगेर सकिएको हो ।

ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो प्रस्तुति सकाएको हो ।

१० वर्षपछि मंगोलियन हार्ट अष्ट्रेलियाको टुरमा निस्किएको हो । त्यसकारण कन्सर्ट भएका हरेक सहरमा मंगोलियन हार्टलाई हेर्न र सुन्न दर्शकको ठुलो भिड जम्मा भएको ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबि लामाले बताए ।

हरेक सहरमा भएको कन्सर्टमा ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत ‘मेरो नेपाल’बाट आफ्नो प्रस्तुति सुरु गर्दै ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ लगायत बयान्डका चर्चित गीतहरु गाएर दर्शक झुमाएका थिए ।

आइतबार राति एडलेडमा भएको अन्तिम प्रस्तुतिमा लामाले ‘सायद तिम्रो बाटोमा’ गीत गाउँदै म्यूजिकल टुर टुंग्याएका थिए । यात्रा टुंग्याउँदै गर्दा दर्शक दिर्घाबाट सबैले हात उठाएका थिए, अनि लामाले मुस्कुराउँदै स्टेजबाटै दर्शकसँग सेल्फी खिचेका थिए । ‘हाम्रो ‘पखाइमा भिज्यो सिरानी’ गीतझैँ मंगोलियन हार्टलाई पर्खिदा पर्खिदै हामीलाई प्रेम गर्ने यहाँका दर्शकहरुको पर्खाइमा सिरानी भिजेको रहेछ । जहाँ पुगेपनि सबैको उस्तै आग्रह थियो– चाँडै फर्की आऊ।।।। हामीले पनि अब चाँडै फर्किन्छौं, १० वर्ष लगाउँदैनौै भनेका छौं ।’

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१