सलमानको फिल्म ‘टाइगर ३’ मा देखिँदै शाहरुख

काठमाडौं । ‘पठान’को सफलतापछि शाहरुख खान चाँडै नै सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ मा जोडिंदैछन् । सलमान र कटरिना कैफको शीर्ष भूमिका रहने फिल्ममा शाहरुखले केमियो रोल गर्दैछन् ।

स्मरण रहोस्, शाहरुखको पठानमा पनि सलमानले १५ मिनेट लामो केमियो भूमिका गरेका थिए । फिल्ममा शाहरुख र सलमान एकसाथ दुश्मनविरुद्ध लडेको दृश्यलाई दर्शकले निकै रुचाएका थिए ।

बलिउड हंगामाका अनुसार शाहरुख यही ८ मेदेखि टाइगर ३ को छायांकन सेट ‘ज्वाइन’ गर्नेछन् । यशराज फिल्मको स्टुडियोमा हुने छायांकन करिब एक साता चल्ने जनाइएको छ ।

मनिष शर्माको निर्देशन रहने ‘टाइगर’ तेस्रो शृंखलामा सलमान र कटरिनाका साथमा इमरान हासमीको पनि मुख्य भूमिका रहनेछ । पठान र टाइगर ३ यशराज फिल्म्सको स्पाइ युनिभर्सका हिस्सा हुन् ।

सन् २०१२ मा टाइगरको पहिलो शृंखला रिलिज भएको थियो भने २०१७ मा दोस्रो शृंखलाको रुपमा ‘टाइगर जिन्दा है’ थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१