• २०८३ असार १९
  • 2026 July 03, Friday

रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढ्याे

काठमाडौं । उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर सिर्जना नहुँदा नेपालको श्रमशक्ति विदेशिने क्रम बढ्दो छ । नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ ।

आज चालू आर्थिक वर्षको ९ महिनाअवधिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको हो ।

‘समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ पुगेको छ,’ केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ, ‘यो ५१.५ प्रतिशतको वृद्धि हो ।’ यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृती लिन नेपालीको संख्या समेत ५.५ प्रतिशतले बढेको छ ।

यससँगै, पुनः श्रम स्वीकृती लिने नेपालीहरुको संख्या २ लाख १७ हजार ९५९ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जानेको भीड बढ्दा नेपालले श्रमशक्ति गुमाइरहेको छ । तर, सरकार भने चालु खर्चसमेत धान्न कठिन भइरहेको अवस्थामा श्रमिकबाट भित्रने रेमिट्यान्स बढ्ने र अर्थतन्त्र सहज हुने भन्दै बसेको छ ।

योजनाविद् तथा श्रम क्षेत्रका जानकारहरु गाउँ नै रित्तिने गरी भइरहेको विद्याथी तथा युवा श्रमशक्ति पलायनले दीर्घकालीन रुपमा फाइदाभन्दा बेफाइदा बढी हुने बताउँछन् ।