गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बोलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिए ।

दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो । काठमाडौंंबाट घौचुरतर्फ जाँदै गरेको बोलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते भएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा रहेका छन् । घाइतेहरूकोे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिं थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१