काठमाडौँ।
हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा आकस्मिक हमला गर्यो। त्यो आक्रमणमा करिब १,२०० जना मारिए र झन्डै २५० जना बन्धक बनाइए। यही घटनाबाट गाजामाथि इजरायलको हालसम्म चलिरहेको युद्ध सुरु भयो। इजरायलले गाजामाथि “अभूतपूर्व युद्ध” घोषणा गर्दै निरन्तर हवाई बमबारी, तोप प्रहार र स्थल आक्रमण सुरु गर्यो। आज, करिब दुई वर्षपछि पनि यो युद्ध रोकिएको छैन, बरु अझै तीव्र बन्दै गएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६४ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन्। लाखौँ मानिस घाइते वा घरविहीन भएका छन्, जबकि संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार गाजाको करिब दुई तिहाइ संरचना पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको छ। ठुला-ठुला टावरदेखि विद्यालय, अस्पताल र मस्जिदसम्म आक्रमणको चपेटामा परेका छन्। मानव अधिकार समूहहरूले यो विनाशलाई “आधुनिक इतिहासकै सबैभन्दा गम्भीर मानवीय सङ्कट” भनेका छन्।
इजरायली सेनाको गाजा सिटीमा जारी भूमिगत आक्रमणबीच पछिल्लो दुई दिनमै करिब ४८ हजार मानिसहरू भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले मंगलबार जनाएको छ । ओचाका अनुसार अगस्ट मध्यदेखि सोमबारसम्म १ लाख ९० हजारभन्दा बढी विस्थापन गतिविधिहरू देखिएको छ । जसमा धेरैजसो मानिसहरू अत्यधिक यातायात खर्चका कारण पैदल हिँडेर नौ घण्टासम्म यात्रा गरिरहेका छन् । धेरैजसो परिवारहरू महिला र वृद्ध सदस्यहरूको नेतृत्वमा, घाइते बालबालिकासहित, तातो मौसममा नाङ्गा खुट्टा हिँडिरहेको ओचाले जनाएको छ ।
अहिले पनि इजरायली सेनाले गाजा सिटीलाई ‘खतरनाक युद्ध क्षेत्र’ घोषणा गर्दै त्यहाँका बासिन्दालाई दक्षिण र केन्द्रीय गाजाका भीडभाडयुक्त ‘मानवीय क्षेत्र’ हरूतर्फ सर्न आग्रह गर्दै पर्चा खसालेका छन् । तर यी क्षेत्रहरूमा समेत इजरायली वायु आक्रमण र बमबारी जारी रहेकाले ठूलो संख्यामा नागरिक हताहत भइरहेका छन् ।
इजरायलको घोषित उद्देश्य भने स्पष्ट छ। पहिलो, हामासको पूर्ण विघटन-सैन्य र राजनीतिक दुवै क्षमता समाप्त पार्ने। दोस्रो, गाजामा रहेका बाँकी बन्धकलाई मुक्त गर्नु। तेस्रो, गाजा भविष्यमा इजरायलविरुद्ध खतराको केन्द्र नबनोस् भन्ने सुनिश्चितता। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बारम्बार “पूर्ण विजय” नभएसम्म युद्ध रोकिँदैन भन्ने अडान राखेका छन्। उनका अनुसार युद्धको अन्त्यपछिको गाजा हमासविहीन र इजरायलको सुरक्षा नियन्त्रणमा रहनेछ।
तर वास्तविकता भने फरक दिशामा बहिरहेको छ। नाकाबन्दी, आक्रमण र खाद्य अभावका कारण लाखौँ नागरिक भोकमरीको नजिक पुगेका छन्। कुपोषण र रोगका कारण बालबालिकाको मृत्यु बढिरहेको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्ध विरामको माग गरिरहेको छ, तर इजरायल अझै आफ्नो अभियानलाई “सुरक्षा आवश्यकताको अन्तिम चरण” भन्दै अघि बढाइरहेको छ। अन्तर्राष्ट्रिय अपराध अदालतले समेत नेतन्याहु र शीर्ष नेताहरूविरुद्ध वारेन्ट जारी गरेको छ, जसले इजरायलमाथि थप दबाब बढाएको छ।
अन्ततः प्रश्न अझै खुला छ, के इजरायलको चाहना केवल हमासलाई समाप्त गर्ने हो वा गाजालाई स्थायी रूपमा आफ्नो सुरक्षा नियन्त्रणमा राख्ने रणनीति? लाखौँ निर्दोष सर्वसाधारणको पीडा र विनाशका बाबजुद जारी यस युद्धले अझै कति जनाको ज्यान लिने हो भन्न सकिँदैन । तर एउटा कुरा भने निश्चित, अमेरिकाले हस्तक्षेप नगरेसम्म गाजामाथि इजरायली आक्रमण रोकिने सम्भावना निकै कम छ ।
