नुवाकोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु,एक जना घाइते

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा बिहीबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उनको छोरा निरज घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरीका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो । उनको छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नं को मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका–७ ठूलोखोलामा बिहीबार बिहान १० बजेको समयमा ठक्कर दिएको हो ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७