राजेश हमाल र शिव श्रेष्ठलाई लिएर फिल्म बनाउँदै सरोज खनाल

काठमाडौं । अभिनेता तथा निर्देशक सरोज खनालले कलाकार राजेश हमाल र शिव श्रेष्ठलाई लिएर फिल्म बनाउने भएका छन् । हिमालय टिभी एचडीको कार्यक्रम सेलेब्स टकसँगको कुराकानीमा उनले नयाँ फिल्मको घोषणा गर्दै दशैंपछि छायांकन सुरु हुने जानकारी दिए ।

यो फिल्मलाई ‘नाइँ नभन्नु ल’ फेम्ड विकासराज आचार्य र खनाल दुवैले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । ‘हिजोसम्म १४ सिन लेखेर सकियो । विकासजी र मिलेर निर्देशन गर्दैछौं,’ उनले भने । यो फिल्ममा सरोजसहित राजेश र शिव तीन समकालीन कलाकारले अभिनय गर्ने भएका छन् । ‘हामी तीनैजना समकालीन कलाकार यसमा देखिंदैछौं,’ उनले भने ।

‘अहिले हामी स्क्रिप्टमै छौं । विकासजीले स्टोरी सुनाउने बित्तिकै मेरो दिमागमा एउटा रोलको लागि राजेशजीको अनुहार याद आयो । त्यो अलिकति अनौठो खालको रोल छ । अहिलेसम्म राजेशजीलाई कसैले पनि त्यो रोलमा देख्नुभएको छैन,’ उनले भने, ‘उहाँले यदि खेल्दिन भन्नुभयो भने हामीले दोस्रो अप्सन सोच्छौं ।’

फिल्ममा राजेश र आफ्नो समानान्तर भूमिका हुने पनि उनले जनाए । अर्को एक भूमिकामा शिवलाई लिने सोच बनाइरहेको सरोजले बताए ‘शिव दाइको बारेमा पनि एउटा रोल छ । ५० कटेका हामी तीन कलाकार एउटै फ्रेममा हुनेछौं,’ उनले भने । अभिनेत्रीबारे निधो नभइसकेको उनले बताए । ‘नाइँ नभन्नु ल ६ बनाउनुअघि पनि यो फिल्म गर्ने कि भनेर सोचेका थियौं । त्यतिबेला प्रियंकाजीलाई लिने कुरा थियो र अब चेन्ज हुन्छ होला,’ उनले भने ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१