बलात्कारपछि हत्या गरेर फरार दुई अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं । बलात्कारपछि हत्या गरेर फरार अभियुक्तलाई प्रहरीेले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्ने धनकुटा शहिदभूमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् ।

जिल्ला प्रहरी सुनसरीका अनुसार उनीहरुले २३ मंसिर ०६४ मा धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेका थिए । उनीहरुले ललितालाई सुनसरीस्थित धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि पालैपालो बलात्कार गरेका थिए । ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले उनीहरुले हत्या गरेका थिए । त्यसएता उनीहरु फरार थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बलात्कारपछि हत्यामा संलग्न दुई अभियुक्तलाई घटनाको १६ वर्षपछि पक्राउ गरिएको बताए । उनले भने,‘१६ वर्षअघि एक बालिकाको बलात्कारपछि हत्या भयो । अभियुक्तको खोजीमा प्रहरी थियो । यही क्रममा उनीहरु धनकुटामा लुकेर बसेको सुचना आयो । खोज्दै जाने क्रममा उनीहरु पक्राउ परे ।’

प्रहरीका अनुसार पक्राउ दुवै अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप भएको छ । घटनामा पक्राउ परेका दुवै अभियुक्तले अभियोग स्वीकार गरेको प्रहरीको भनाई छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१