फिल्म ‘परस्त्री’काे गीतमा भारतीय गायक-गायिकाको समेत स्वर रहने

काठमाडौं । नेपाल र भारतमा एकसाथ रिलिज हुने इन्डो–नेपाली फिल्म ‘परस्त्री’का गीतमा भारतीय गायक-गायिकाको समेत स्वर रहने भएको छ ।

फिल्मको हिन्दी भर्सनका लागि गीतमा भारतीय गायक गायिका अमित मिश्र, सोनल प्रधान र कुनाल गञ्जावालाको स्वर रहने निर्देशक सुरज पाण्डेले बताए ।

अमित, सोनल र कुनाल बलिउडमा लोकप्रिय प्लेब्याक सिंगर हुन् । कुनाल गञ्जावालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गाउन बाँकी छ । सोनल र अमितले पनि सोमबार गीत रेकड गर्ने निर्देशक पाण्डेको भनाई छ ।

फिल्ममा रहेको गीत नै हिन्दी रिमेक गरेर बलिउड गायक गायिकालाई गाउन दिइएको हो । फिल्मको गीत नेपालीमा केतन क्षेत्री र निकिता थापाले गाएका थिए ।

इन्डो–नेपाली फिल्म ‘परस्त्री’ जुन ३० अर्थात् असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ । फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका छन् ।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्म डीएस डिजिटलको प्रस्तुति रहेको छ । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा लगायत कलाकारको अभिनय छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७