काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लाई चितवनमा अभियान्ता, जनप्रतिनिधिहरुले भष्ट्रचारविरुद्धको अभियानको थालनी गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।
समृद्धिका लागि युवा अभियान माडी, चितवनका अभियन्ताहरू, स्थानीय जनप्रतिनिधिहरू र राजनीतिक दलका प्रतिनिधिहरूले सोमबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई देशैभरी आशाको लहर सिर्जना हुनेगरी भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेकोमा धन्यवाद दिएका हुन्।
साथै राष्ट्रिय निकुञ्जभित्र धुलोरहित बाटो, भुमिगत विद्युतीय केवल तथा रिउ करिडोर निर्माण गरी समृद्ध माडीको सपना साकार पारिदिन समेत अनुरोध गरेका छन् । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले माडीको विकासलाई उच्च प्राथमिकता दिएर पहल अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल, माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु डण्डपाणी पौडेल र वीरेन्द्र भण्डारी, कांग्रेस नेता शोभाखर चापागाईं, एमाले नेता शिवहरि सुवेदी, माओवादी केन्द्रका नेताद्वय ऋषिराम काफ्ले र प्रभु प्रसाद महतो, एकीकृत समाजवादीका नेता नारदमणि पौडेल र युवाअभियन्ताहरु कृष्ण पौडेल, रामबन्धु पोखरेल, रामचन्द्र लम्साल, हरि रानाभाट, विपिन पाठक, सुर्य पाठक लगायतको उपस्थिती रहेको थियो ।