
काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको साताैँ राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् ।
यही जेष्ठ ९, १० र ११ गते काठमाण्डौको प्रज्ञा भवनमा हुने महाधिवेशमा देशभरबाट करिब आठसय प्रतिनिधिहरु र उद्घाटन सत्रमा सरोकारवाला, उपभोक्ताहरुको उपस्थिति रहनेछ ।
बिहान ९ बजेदेखि सुन्धाराबाट र्याली सुरु भएर १० बजे कमलादी प्रज्ञा प्रतिष्ठानको भवनमा महाधिवेशन सुरु हुने महासंघका अध्यक्ष भारती पाठकले जानकारी दिइन् । महासंघ स्थापनाको २७ औँ बर्षको अवधिसम्म आइपुग्दा ६ वटा महाधिवेशन र एउटा विशेष महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक अभ्यासलाई संस्थागत गरिसकेको छ ।
यसै सन्दर्भमा विधानले व्यवस्था गरे बमोजिम यस महासंघले आफ्नो सातौ राष्ट्रिय महाधिवेशन “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नारा राखेको छ ।
देशभरी क्रियाशिल उपभोक्ता समूहहरुको सक्रिययतामा वि.सं. २०५२ सालमा, प्रतिनिधिमूलक छाता संगठनको रुपमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको स्थापना भएको हो । महासंघले स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा समेत वन, वातावरण व्यवस्थापन तथा जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनमा क्रियाशिल रहेको छ ।
राज्यको पुनर्संसँगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पुनर्संरचना भइ ५५५ भन्दा बढी पालिकास्तरमा स्थानीय महासंघ ७७ जिल्लामा जिल्ला महासंघ सातवटै प्रदेशमा प्रदेश महासंघ गठन भइ सकृय रुपमा क्रियाशिल रहेका छन् ।
सामुदायिक वन विकास कार्यक्रम नेपाल सरकारको वन तथा वातावरण संरक्षण र प्रवर्द्धनकाे क्षेत्रमा बहुचर्चित, बहुआयामिक जन सहभागितामूलक सार्थक विकास अभियान हो । २०४६ सालको परिवर्तनसँगै सुरु भएको यस अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफलता प्राप्त गर्न सफल भएको छ ।
ग्रामिण क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरु गोलबद्ध गर्दै हाल सम्म देशभर २२,४१५ हस्तान्तरण भएका सामुदायिक वनमा २९,०७,८७१ घरधुरीले २२,३७,६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन् । जसका कारण वन क्षेत्रको दीगो व्यवस्थापनमा करिब १ करोड ५० लाखको हाराहारीमा स्थानीय उपभोक्ताहरु यसै सामुदायिक वन कार्यक्रमको माध्यमबाट वन संरक्षण, सवर्धन, र उपयोगमा क्रियाशिल रहँदै आएका छन् ।