नेपाल र भारत सेमिफाइनलमा भिड्ने

काठमाडौं । घरेलु टोली नेपाल एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल एक बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो ।

नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएको छ ।

अब नेपाल र भारतबीचको विजेता समूह विजेता बन्नेछ । नेपालको दुई खेलबाट ६ अंक छ । भारतको पनि ६ अंक छ । किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशमाथि ३–० को एकपक्षीय जित निकाल्दै लगातार दोस्रो जित आत्मसात् गर्यो ।

पहिलो सेटमा २५–१० को सोझो सेटमा जित निकालेको नेपाललाई दोस्रो सेटको सुरुवातमा बंगलादेशले कडा चुनौती दिएपनि नेपालले २५–८ को सहज जित निकाल्न सफल भयो । ६–६ को बराबरीबाट अघि बढेको नेपालले त्यसपछि बंगलादेशलाई थप २ अंक मात्रै दिदै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

चौथो सेटमा पनि सुरुवातदेखि नै अग्रता लिदै नेपालले २५–९ ले आफ्नो पक्षमा पार्दे जित निकाल्न सफल भयो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७