• २०८३ असार १५
  • 2026 June 29, Monday

सगरमाथाको चुचुरोमा पुग्यो चिनियाँ अनुसन्धान टोली

चीनको अनुसन्धान टोली सन् २०१७ यता दोस्रोपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएको छ । चिनियाँ वैज्ञानिकहरूको टोलीले मंगलबार राति १२ बजेर ३० मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले यस विषयमा भनेको छ, ‘केही समयअगाडि हाम्रा वैज्ञानिकहरूले विश्वकै सर्वोच्च शिखर चोमोलोङमाको सफल आरोहण गरेका थिए, अहिले दोस्रोपटक उनीहरू चोमोलोङमा आरोहण गर्न फेरि सफल भएका छन् ।’

चिनियाँ भाषामा नेपालको सर्वोच्च शिखर सगरमाथालाई चोमोलोङमा भन्ने गरिन्छ । चिनियाँ टोलीले सगरमाथाको उत्तरी मोहडाबाट आरोहण थालेका थिए । उनीहरूले वैज्ञानिक अनुसन्धान पनि जारी राखेका छन् ।

मंगलबार राति साढे १२ बजे ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो सगरमाथाको सफल आरोहण गर्नुअगाडि १३ चिनियाँ वैज्ञानिकको टोली ८ हजार ३ सय मिटरको उचाइमा दुई समूहमा विभाजन भएका थिए ।

एक टोलीले ८ हजार ८ सय ३० मिटर उचाइमा भएको मौसम स्टेसनको मर्मत गरेका थिए । चीनले तैनाथ गरेको यो मौसम स्टेसन सबैभन्दा अग्लो स्थानको मौसम स्टेसन हो । यहाँ वैज्ञानिकहरूले ब्याट्री परिवर्तन गरे, हावाको गति मापन गर्ने इन्डिकेटर फेरे र डिरेक्सन सेन्सर पनि परिवर्तन गरे । यो मौसम स्टेसनले सगरमाथाको मौसमबारे जानकारी दिन्छ ।

वैज्ञानिकहरूले यसपटक ५ हजार २ सय मिटेरदेखि ८ हजार ८ सय ३० मिटरमा रहेको आठ मौसम स्टेसन मर्मत र स्तरोन्नतिको काम गरेका छन् । अर्को टोलीले भने सगरमाथाको चुचुरोमा पुगेर त्यहाँको हिउँ र बरफको नमुना संकलन गरेका छन् । यसबाट त्यहाँको वायुलगायत अन्य प्रदूषण पत्ता लगाउन मद्दत पुग्नेछ ।

यसअघि चीनले नै पहिलोपटक हुवावेको फाइभ–जी इन्टरनेट प्रणाली सगरमाथामा तैनाथ गर्न सफल भएको थियो । रोयटर्स र सिन्ह्वाको सहयोगमा