रौतहटमा ७० वर्षीय वृद्धको गोली हानेर हत्या

काठमाडौ‌ । रौतहटमा एक वृद्धको गोली हानी हत्या गरिएको छ । देबाही गोनाही-१ का ७० वर्षीय शेख तैयाबको हत्या भएको हो ।

घरदेखि एक किलोमिटर दूरीमा लक्ष्मीनिया जाने सडकमा तैयबको शव भेटिएको हो । उनको टाउकोमा चोट देखिएको इलाका प्रहरी कार्यालय गोनाहीका प्रहरीले जानकारी दिए ।

उनका अनुसार हत्या कसले गरेको भन्नेकुरा खुल्न सकेको छैन । अनुसन्धान भइरहेको छ । तर, मृतकका छोरा शेख असलमले गाउँकै मजहर आलम भनेर चिनिने मोगले आलममाथि हत्याको आरोप लगाएका छन् ।

२०७९ फागुन १५ मा तैयबका नाति शेख रिजवान मोगले आलको छोरीलाई लिएर बिहे गर्ने भन्दै सम्पर्कविहीन भएका थिए । १० दिनपछि मोगलेको छोरी इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भइन् । प्रहरीलाई उनी दिएको बयानको आधारमा तीनजनामाथि अपहरण तथा जबर्जस्ती करणी मुद्दासमेत चलेको छ । उक्त घटनापछि तैयब र मोगलेको दुश्मनी सुरू भएकाे थियाे ।

तैयबको हत्या भएपछि उनका छोरा शेख असलमको दाबी छ, ‘मोगले पटक/पटक धम्की दिने गरेका थिए । उनले मुद्दा चलाएकाहरू धरौटीमा छुटेको बिहान रातिनै मेरो बुबाको हत्या भयो । मोगले र उनका मान्छेले नै हत्या गरेका छन् ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१