
काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’ ले पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चरसँग सहकार्य गर्दै दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । यो अफरमा खल्तीको डिजिटल टिकेटिङ सहकार्य छ ।
अफरअनुसार दर्शकले फिल्म ‘हुक्का’ को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागु हुनेछ ।
त्यस्तै फिल्म हेरेपछि ह्याजट्याज नेपाली मुभी हुक्का १२ लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्विङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् । यसका लागि दर्शकले फिल्मको टिकट सुरक्षित राख्नुपर्नेछ । यो सुविधा असोज २८ गतेसम्म रहेको छ ।
शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारको अभिनय छ ।
सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह-निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।
फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।