
काठमाडौं । सदर चिडियाखानामा आज एकैदिन १२ हजारले अवलोकन गरेका छन् । यो संख्या यो वर्षकै सबैभन्दा धेरै रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले बताएका छन् ।
ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा बिहिबार भोटो जात्राको अवसर सार्वजनिक विदाको मौका छोपी अवलोकन गर्नेको घुइँचो लागेको कोइरालाले बताए ।
अघिल्ला वर्षको तुलनामा यस वर्षको भोटो जात्राका दिनमा भने कम अवलोकनकर्ता आएका छन् । यसअघिका वर्षमा यस दिन झण्डै २२ हजार जनाले चिडियाखाना भ्रमण गर्ने गरेका थिए ।
उपत्यकामा आज बिहानैदेखि वर्षा भएकाले पनि चिडियाखाना आउनेको सङ्ख्या कम भएको हुनसक्ने सूचना अधिकारी कोइरालाको भनाइ छ । चिडियाखानाले हरेक वर्ष भोटो जात्राको अवसरमा टिकटमा पनि छुटको व्यवस्था गर्ने गरेको छ ।
साविकमा टिकटको दर वयस्कका लागि दुई सय रुपैयाँ, विद्यार्थीका लागि १ सय ३५ रुपैयाँ र जेष्ठ नागरिकका लागि १ सय रुपैयाँ हुने गरेकामा आज सबैलाई ७५ रुपैयाँमा टिकट दिइएको छ ।