सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या, युवक घाइते

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ ।

सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१मा डेरा गरी  बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका अनुसार हत्या सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले गरेका हुन् । गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ ।

गदालले युवतीको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ ।

बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्याको कारण भने खुल्न नसकेको कारण थप अनुसन्धान भैरहेको छ ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७