देवकुमार नेपालीलाई पक्राउ गर्न गृहमन्त्रीकाे ध्यानाकर्षण

काठमाडाैं । नेकपा एमालेबाट निलम्बित बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई तुरुन्त पक्राउ गर्न सामाजिक अभियान्ता साेम शर्माकाे टाेलीले गृहमन्त्रीकाे ध्यानाकर्षण गराएकाे छ ।

उक्त टाेलीले शुक्रबार गृहमन्त्रीलाई भेटेर नेपालीलाई पक्राउ पूर्जी जारी गर्न ध्यानाकर्षण गरेकाे हाे ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएपछि उनलाई पक्राउ गरी पीडितलाई न्याय दिन उनीहरुले गृहमन्त्रीकाे ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा नेपालीसँग अपचलनमा संलग्न सबैलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अगाडी बढाउन, र उनीहरुकाे जायजेथा तथा बैंक खाता राेक्का गरी बचतकर्ताकाे रकमकाे सुरक्षा गरिदिन पनि माग गरिएकाे छ ।

पत्रमा लेखिएकाे छ, ‘नेपाली र उनकाे परिवारले उनीहरुकाे नाममा रहेकाे चल अचल सम्पत्ति आफन्त र साथीभाईका नाममा नामसारी र भुक्तान गरिएकाे पाइएकाेले उक्त समयमा भएकाे काराेबार बदर हुनेगरी कारबाही प्रकृया अगाडि बढाउन पनि अनुराेध छ ।’

यसअघि नेपालीले सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएकाे समाचार बाहिरिएपछि उनलाई एमाले गण्डकी प्रदेश कमिटीको बैठकले निलम्बित गरिसकेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१