रेशमलाई माफी दिएकाेबारे गगनकाे गर्जन : सरकारले राजाले जसरी हुकुमी शासन चलायो (भिडिओ)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टीकापुर हत्याकाण्डका प्रमुख दोषी रेशम चौधरीलाई आममाफी दिएर सरकारले राजाको जस्तो हुकुमी शासन चलाएको बताएका छन् ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

कुनै पनि विषयमा अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा कानुनले बन्दोबस्त गरेको कुरालाई सरकारले लत्याउने काम गरेको पनि उनले बताए ।

उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुमले चल्दैन, यो गणतन्त्रको शासन हो। यहाँ कानुनको शासन मात्रै हुन्छ र चल्छ ।’

सरकार चलाउन सजिलो बनाउने नाममा प्रचलित कानुनलाई मिचेर रेशमलाई रिहा गरिएको उनको भनाइ थियो ।

‘आज हामीलाई सरकार चलाउने कुरामा केही सजिलो या गाह्रो भयो भनेर प्रचलित कानुनलाई पनि मिचेर थिचेर बलमिच्याइँ गर्दैछौँ । अदालतको पूर्णपाठ पनि नआई यो निर्णय गरेर हामीले अदालतलाई हेप्यौँ,’ उनले भने, ‘कांग्रेस भन्ने पार्टी विधिको शासनमा चल्छ भन्ने मान्यता छ । अरुले दायाँबायाँ गरे पनि कांग्रेस पार्टी आफ्नो मान्यतामा चल्छ भनिन्थ्यो । आफ्नो सिद्धान्तबाट हलचल गर्दैन, जति गाह्रो साह्रो परे पनि आफ्नो मान्यतामा चल्छ भनिन्थ्यो ।’

उनले विधि र कानुनको शासनको वकालत गर्दै गर्दा यस्तो सरकार गए केही हुँदैन अर्को आउँछ भन्नुपर्नेमा उल्टो भएको टिप्पणी गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१