बागलुङ । गलकाेट नगरपालिका बागलुङ जिल्लाकै पहिलाे बालमैत्री नगरपालिका घाेषणा भएकाे छ । गलकाेट नगरपालिकालाई नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेकाे हाे ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले नगरपालिकाले बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणा गरेपछि यसलाई दीगो रुपमा कायम राख्नको लागि सबैले सहयोग गर्दै अन्य स्थानीय तहले पनि यसको सिको गर्नुपर्ने बताएकी छन् ।
उनले बालमैत्री नगर घोषणा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि गण्डकी प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।
उनले एक जिल्ला एक रंगशाला, एक स्थानीय तह एक खेलकुद मैदान निर्माण गर्ने कार्यक्रम अन्तर्गत एक स्थानीय तहको खेलकुद मैदान गलकोट नगरपालिकामा निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । सिम्खडाले एक स्थानीय तह एक दक्ष चिकित्सक उपलब्ध गराउने र ६० वर्ष भन्दा माथिका महिलाहरुलाई भत्ता दिने कार्यक्रम सञ्चालन गर्ने पनि बताइन् ।
नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेपछि पञ्चवर्षीय रणनीतिक योजना समेत तयार पारिएको गलकोट नगरपालिकाले जनाएको छ । नगरपालिकामा १८ वर्षमुनिका बालबालिका ९ हजार ७ सय ३० रहेका छन् । गलकोट नगरपालिकाका ११ वटै वडालाई बालमैत्री वडा घोषणा गरेसँगै गलकोट नगरपालिका गण्डकी प्रदेशको तेस्रो र बागलुङ जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको हो ।
नगरपालिकाले बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाका लागि ५१ वटा सूचक पूरा गरेसँगै बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणा गरिएको गलकोट नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा पूर्व संविधान सभा सदस्य नर बहादुर पुन निरज, बागलुङ क्षेत्र नं २ क का गण्डकी प्रदेश सांसद जित सेरचन, बागलुङ क्षेत्र नं २ ख का गण्डकी प्रदेश सांसद दोर्ण कुवँर, दिलमाया पौवी, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका महा निर्देशक खिम बहादुर खड्का, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर थापा, जैमिनी नगरपालिका नगरप्रमुख नर बहादुर पुन, बढिगाढ गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, नगर बाल सञ्जालका अध्यक्ष समिक्षा गौतम, गलकोट नगरपालिकाका निर्वतमान नगर उपप्रमुख रेनुका काउचा मगर, नेकपा एमाले गण्डकी प्रदेश सदस्य मञ्जु शर्मा चालिसे, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसी, गलकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक हिम बहादुर भण्डारी, गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्री, गलकोट माध्यमिक विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गलकोट नगरपालिकाका विभिन्न वडाहरुबाट झाँकी प्रर्दशन, विभिन्न बाल सञ्जालहरुले साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, नगरउपप्रमुख फमलाल निउरेको स्वागत र गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि.कको सञ्चालनमा सम्पन्न भएको थियो ।