अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा

काठमाडौं । दुई दिनदेखि बढेको गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए ।

गर्मीका कारण बालबालिकालाई सम्भावित विभिन्न समस्याबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए ।

उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उनले बताए । इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ ।

प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७