नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित ३ जनाको बयान आज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको बयान आज लिइने भएको छ ।

बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीनजनाको बयान सकिएको थियो । जिल्ला अदालत काठमाडौंमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको बताइएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँले बयान दिएका थिए । योसँगै १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ । प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि थालिएको थियो ।

यस प्रकरणमा १२ जना अझै फरार छन् । बयान सक्न अझै केही दिन लाग्नेछ । बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७