आज देशभरको मौसम सफा,तापक्रम अझै बढ्ने सम्भावना

काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ ।

पहाडी भू-भागका एकदुई स्थान बाहेकका भू-भागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने मौसमविद्ले जानकारी दिए ।

उनका अनुसार भैरहवा, सिमरालगायतका स्थानहरूको तापक्रम अझै बढ्ने सम्भावना छ । दुईतीन दिनदेखि ती स्थानको तापक्रम ४० देखि ४१ डिग्रीसम्म मापन गरिएको छ ।

‘पश्चिमी र स्थानीय वायु कमजोर भएकोले तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले गर्मी बढ्ने क्रम अझै केही दिन जारी रहन्छ,’उनले भने ।

उपत्यकामा पनि तुलनात्मक रूपमा तापक्रम केही बढ्ने मौसमविद् अधिकारीले जानकारी दिए ।

उपत्यकाको तापक्रम बिहीबारको तुलनामा शुक्रबार केही बढेको थियो । आज पनि तापक्रम केही बढ्ने सम्भावना रहेको बताए ।

केही दिनदेखि उपत्यकाको अधिकतम तापक्रम ३० देखि ३१ डिग्रीसम्म मापन भएको छ । ‘केही दिन गर्मी बढ्ने क्रम जारी रहन्छ,’ उनले भने ।

उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने देखिए पनि बर्षाको सम्भावना भने नरहेको जानकारी दिए ।

त्यस्तै तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७