काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा हुने र सबै स्पर्धामा नगद पुरस्कारको ब्यवस्था गरिएको जानकारी आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले दिइन् ।
हेभी वेट विजेताले एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले एक लाख, फिमेल म्याच विजेताले ८० हजार र लाइट वेट विजेताले ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने आयोजकले जनाएको छ ।
सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । कार्यक्रम प्रस्तोतामा जीवन तामाङ रहने छन् ।
प्रवेश निःशुल्क रहेको उक्त प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।