काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ ।
बिहीबार ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएसँगै बिहानी शो रद्द गरिएको थियो ।
नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन गरेको क्युएफएक्सकी बजार प्रबन्धक तृप्ती गिरीले बताइन् ।
‘११ बजेपछि हामीले आदिपुरुष चलाइरहेका छौं । विवादित संवाद हटाएर नै हामीलाई फिल्म पठाइएको थियो । तर मानिसहरू आक्रोशित देखिएपछि सुरक्षा दिन नसकिएला भनेर फिल्म रोकेका हौं । अब फिल्म नियमित प्रदर्शन हुन्छ,’ उनले भनिन् ।
विवादित संवाद नेपालमा मात्रै हटाइएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतबाट पनि नहटेसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बताएका छन् । उनले उक्त संवाद हटाउन तीन दिनको समय दिएका छन् ।
ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन् । सैफ अली खान रावणको भूमिकामा देखिएका छन् ।
रामायण कथामा आधारित भएर चलचित्र निर्माण गरिएको छ ।