रूपन्देहीमा बम विस्फोट घटनामा संलग्न तीन आरोपित पक्राउ

काठमाडौं । रूपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रूपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारू रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

तीन दिनअघि पक्राउ परेका व्यक्तिहरूबाट लु ८ ५ प ६२२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल र विभिन्न मोडलका मोबाइल फोनसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए ।

उनीहरूले वैशाख १ गते रूपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडिको पर्खाल नजिकै प्रेसर कुकर बम राखेको प्रहरीले जनाएको छ ।

उक्त बम नेपाली सेनाको विस्फोटक टोलीबाट डिस्पोज गरिएको थियो । असार १ गते बिहान २ः३० बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्डमा पर्खाल बाहिर प्रेसर कुकुर बम विस्फोट गराएको र सोही दिन नै बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विस्फोटक पदार्थ (प्रेसर कुकुर बम) विस्फोट गराएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले घर नजिकै बम राख्ने र फिरौती रकम माग्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद, ७ ‘विस्फोटक पदार्थसम्बन्धी कसूर’ शीर्षकमा मुद्दा दर्ता भई रूपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१