• २०८३ जेठ २२
  • 2026 June 05, Friday

फ्राइडे रिलिज : नेपाली हलमा दुई विदेशी फिल्म

काठमाडौं । आज शुक्रबार नेपाली फिल्म हलमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् ।

कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआउँदा दक्षिण भारतीय फिल्म ‘स्पाई’ र हलिउड फिल्म ‘इनसिडियसः द रेड डोर’ प्रदर्शन भएका हुन् ।

दक्षिण भारतीय फिल्म ‘स्पाई’ मा निखिल सिद्धार्थको मुख्य भूमिका छ । ग्यारी भाले निर्देशन गरेको फिल्ममा सिद्धार्थसँगै ऐश्वर्या मेनन, मकरन्द देशपाण्डे, आर्यन राजेश, नितिन मेहता, रवि वर्मालगायत कलाकारको अभिनय छ । फिल्ममा राणा दग्गुबती अतिथि भूमिकामा देखिएका छन् ।

एक्सन र थ्रिलर जनरामा बनेको फिल्मको कथा अनिरुद्ध कृष्ण मुर्ति के र राजा शेखर रेड्डीले लेखेका हुन् । फिल्मको बजेट ४५ करोड भारू बताइएको छ । भारतमा यो फिल्म गतसातादेखि प्रदर्शन भइरहेको छ ।

हलिउड फिल्म ‘इनसिडियसः द रेड डोर’ मा पट्रिक विल्सन, रोज बायर्न, टाई सिम्पकिन्सलगायत कलाकारको अभिनय छ । फिल्मलाई पट्रिक विल्सनले निर्देशन गरेका हुन् ।

हरर, मिस्ट्री र थ्रिलर जनरामा बनेको फिल्म इनसिडियस संस्करणको पाँचौं फिल्म हो ।