रोविन तामाङको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक (भिडिओ)

काठमाडौं । रक गायक रोविन तामाङको गत मंगलबार निधन भयो । उनको पार्थिव शरीरलाई आज अन्त्येष्टि गरिँदैछ ।

नेपाली गीतसंगीत र फिल्म क्षेत्रमा उनको उल्लेखनीय योगदान छ । उनै गायक रोविनको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ ।

निर्देशक निरञ्जन पाण्डेले यो गीत फिल्म ‘धुवाँ’ को लागि तयार पारेका थिए । उक्त फिल्म सन् २०२५ मा छायांकन गर्ने बताइएको छ । रोविन तामाङको असमायिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै गीत सार्वजनिक गरेको पाण्डेले बताए ।

एमआईसी युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले जिन्दगीलाई धुुवाँमा नउडाउन सन्देश दिएको छ । गीतमा रोविनलाई गायक राजेश पायल राईले साथ दिएका छन् । गीतको भिडिओमा रोविन र राजेशलाई देख्न सकिन्छ ।

सुरेश राईको शब्द तथा संगीत रहेको गीतको र्‍यापको शब्द रोविनले लेखेका हुन् ।

सोनाम तामाङले छायांकन गरेको गीतको भिडिओलाई निरञ्जन पाण्डेले सम्पादन गरेका छन् ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए ।

उनले ‘मेरो माया, ठिक छ, माया देउ धोका न देउ, केटा केटी, भुलमा भुलियो’ लगायत गीत गाएका छन् । छड्केबाहेक उनले ‘मुखौटा, जय पशुराम, चिसो एस्ट्रे’ लगायत फिल्ममा अभिनय गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१