• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

युक्रेनसंगको युद्ध रोक्न रुसलाई शान्ति समाजको आग्रह

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले, युक्रेनसंगको युद्ध रोक्न दुतावासमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन् ।

आज बालुवाटारस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गर्दै समाजले रुस–युक्रेन युद्धका कारण मानवता पराजित भइरहेको भन्दै युद्ध तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।

प्रदर्शनमा सहभागि मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले रुस र युक्रेनबीचको युद्धले विश्व अर्थतन्त्र ध्वस्त हुनुका साथै लाखौं लाख मानिस घरबारविहीन भएको भन्दै यसलाई रोक्न आवश्यक भएको बताए ।

उनले भने, ‘आज रुस र युक्रेनबीचको युद्धले लाखौं लाख मानिस घरबारविहीन भएका छन् । हजारौंले आफ्नो जीवन गुमाएका छन् र विश्व अर्थतन्त्र ध्वस्त भईसकेको छ । विश्व अर्थतन्त्रले आफ्नो लय लिन अझै लामो समय लाग्छ ।’

उनले युद्ध सुरु भएको ५ सय दिन वित्दापनि रोकथाम हुन नसकेको भन्दै युद्ध रोकिनु पर्छ र युद्धबाट आम नागरिकले मुक्ति पाउनु पर्छ भन्ने मागका साथ प्रदर्शन गरेको पनि बताए ।

सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरु भएको युद्ध तत्काल अन्त्य गर्न आग्रहसहित यस अघि पनि मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपतिलाई पटक पटक आग्रह गरेको थियो ।

युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ भन्ने मान्यताका साथ मानव अधिकार तथा शान्ति समाजले युद्ध निषेधः शान्ति विशेष भन्ने आह्वानसहित २७ वर्षदेखि युद्ध र आणविक अस्त्रको विरोधमा अभियान सञ्चालन गर्दै आएको छ ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, शान्तिवादीहरु डा. केदारनरसिंह केसी, सुदर्शन सिग्देल, रत्नलक्ष्मी श्रेष्ठ, चन्द्रमणी बञ्जारा, बलबहादुर गाहा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, जगन्नाथ पुडासैनी, भगवान पुडासैनी, विकास थापा, ईश्वर पुडासैनी, जयराम पुडासैनी, ईश्वर नेपाल, प्राची खनाल, रिता अधिकारी, आरसी भण्डारी, मणिराम दाहाल, गौतम खड्का, हिरामणी खनाल लगायत सहभागि थिए ।

यसैगरी आजकै दिन रुसलाई तत्काल युुद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, संखुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवा लगायत एक दर्जन जिल्लामा शान्ति समाजका शाखाहरुले प्रदर्शन गरेका छन् ।