बर्दी लगाएर टिकटक भिडिओ बनाउने प्रहरी कारबाहीमा

काठमाडौं । बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरी कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो ।

२०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए ।

उनका अनुसार २०७७\७८ मा ८२ जना, २०७८\७९ मा ३० जना र २०७९\८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको हो ।

‘पहिलोपटक चेतावनी दिन्छौँ । दोहोरिएमा एक दिनको तलब कटौटी गर्नेदेखि वढुवा रोक्कासम्म हुन्छ,ʼ डिआइजी कडायतले भने ।

२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो ।

तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग रोकिएको छैन । बर्दीमै भिडिओ बनाएको आरोपमा दैनिक दुईरचार जना प्रहरी कारबाहीमा परिरहने डिआइजी कडायतले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१