
काठमाडौं । यस आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा काठमाडौं उपत्यकामा आपराधिक गतिविधि बढेका छन् ।
सोमवार जिल्ला प्रहरी परिसर काठमाडाैले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९ – ८० को प्रगति कार्य सम्पादन बिवरण प्रस्तुत गर्दै यस वर्ष चार हजार चार सय ८७ ले अपराधका घटना भएको जानकारी दिएको हो ।
अघिल्लो वर्ष दर्ता भएका मुद्दा ८ हजार नौं सय ७७ रहेको थियो भने यो वर्ष १३ हजार चार सय ६४ सङख्या पुगेको छ ।
पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले टपटेनमा पर्ने अपराधको कुरा गर्दा चेक बाउन्स अर्थात बैकिङ कसुरको मुद्दा १ नम्बरमा रहेको बताए ।
उनले भने ‘ अघिल्लो आर्थिक वर्षको तुलनामा बैकिङ कसुरको मुद्दा तीन हजार तीन सय ८६ ले अपराध बढेर सात हजार एक सय एक पुगेको छ ।
यस्तै अभद्र व्यवहार, चोरी ठगी र लागू औषधका अपराधहरु पनि बढ्दो अवस्थामा रहेको काकीले बताए ।
त्यस्तै अभद्र व्यवहार विरुद्धमा दुई हजार आठ सय ९५ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लाे आर्थिक वर्षमा दुई हजार तीन सय १६ रहेको थियो । चोरी सम्बन्धी कसुर पनि एक सय ८७ ले बढेको छ ।
अघिल्लो वर्षको तुलनामा ठगी सम्बन्धि मुद्दा भने घटेको छ । अघिल्लो वर्षमा आठ सय १२ वटा मुद्दा दर्ता भएको यो वर्ष चार सय १४ वटा मात्र मुद्दा दर्ता भएका छन् । लागु औषध सम्बन्धि मुद्दा तीन सय ६८ दर्ता भएका छन् अघिल्लो वर्षको तुलनामा २९ ले बढेको हो ।
आत्महत्या सम्बन्धि घटना पनि बढेको छ तीन सय ५७ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष तीन सय ४१ थियो । महिला तथा बालबालिका सम्बन्धि कसुर भने घटेको छ । अघिल्लो वर्ष तीन सय ८२ थियो भने अहिले तीन सय २५ मात्र रहेको छ । सवारी ज्यान तथा अंगभंग सम्बन्धि कसुर अघिल्लो वर्ष एक सय ७३ अहिले १ सय ८९ छ । कर्तव्य ज्यान मुद्दा अघिल्लो वर्ष ३७ यो आर्थिक वर्षमा २७, अन्य अपराध अघिल्लो वर्ष ४ सय २ यो वर्ष एक हजार एक सय ४१ रहेको छ ।