काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
मंगलबार उच्च अधिकारीसहितको टोली लिएर अनुगमनमा पुगेका मन्त्री ज्वालले समयमै काम सक्न निर्देशन दिएका हुन् ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमनका क्रममा उनले भने ‘नागढुंगा सुरुङमार्गको मुख्य टनेल करिब ४०० मिटर रहेको छ र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी छ । करिव एक वर्ष भित्र यातायात संञ्चालन गर्ने गरि सम्पन्न गर्ने गरि लागरिहेका छौं । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकार सहजीकरणको लागि तयार छ । ’
कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो ।
सुरुङमार्गको वि.सं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ २.६८ किलोमिटर छ । यहाँ ९ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।