
काठमाडौं । एक महिना रोकिएको टेलिभिजन सिरियल ‘हल्का रमाइलो’को प्रसारण आइतबार बेलुकादेखि सुरु भएको छ । बल्छी धुर्बेको शीर्ष भूमिका रहेको यो कमेडी श्रृंखला हिमालय टेलिभिजनमा बेलुका ८ बजे प्रसारण हुने छ ।
एक महिनापछि सिरियलको प्रसारण सुचारु हुन लागेकोबारे निर्देशक समेत रहेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले भने, ‘आज १८८ औं भाग आउनेछ । दर्शकले यसमा हाँसो र सन्देशले भरिएको कथा हेर्न पाउनुहुनेछ ।’
हिमालय टिभीबाटै आउने बल्छी धुर्बेले अर्को सिरियल ‘जुठे’ आउन चाहिं केही समय लाग्ने जनाइएको छ । छायांकनका लागि उपत्यकाबाहिर जानुपर्ने भएकाले यो सामाजिक विषयवस्तुको सिरियल आउन केही समय लाग्ने निर्देशक समेत रहेका बल्छी धुर्बेले बताए ।
वान-एक्स बेट प्रकरणमा बल्छी धुर्बेसहितका ९ जना कलाकार तथा युट्युबरलाई प्रहरीले पक्राउ गरेको थियो । केही साताअघि अदालतको आदेशमा उनीहरु रिहा भएका थिए ।