
काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’ मा अभिनेत्री छिरिङ शेर्पा अनुबन्धित भएकी छन् ।
उनले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन् । यसअघि उनले शेर्पा समुदायमा बनाइएका फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेता हुन् ।
उनले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत नाम राखेकी छन् । उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन् ।
यार्सा फिल्म्स ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रूपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन तिहारपछि गरिने बताइएको छ ।
निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।