‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गर्यो

काठमाडौं । नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ ।

सोमवार निर्माताले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो चलचित्रले ६९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ ग्रस कलेक्शन गरेको छ ।

चलचित्रका निर्माता सुरेश वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको बताएका छन् ।

निर्माता वाग्लेले आफुले वितरकले दिएको हरेक दिनको हिसाब अनुसार नै कारोबार गर्ने हुँदा करिब ७० लाखको रिपोर्ट सार्वजनिक गरिएको बताएका हुन् ।

‘बगान’ले प्रदर्शनको एघारौँ दिन सोमवार पनि राम्रो व्यापार गरेको उनले बताए । उनले भने, ‘आज पनि हामी धेरै हलमा पुग्यौँ । केहि हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।’ उनले नेपाली चलचित्रले दर्शकको अभाव झेलिरहेको बिषम् परिस्थितिमा ‘बगान’को व्यापारले उमंग ल्याएको बताए ।

एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो चलचित्र हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक हजार भन्दा धेरै एकल आमाहरूले आफ्नो परिचयपत्र देखाएर निशूल्क चलचित्र हेरेको निर्माता जानकारी दिए ।

काठमाडौँको लोत्सेमलस्थित आईएनआई सिनेमा, काठमाडौको ईन्फिनिटी सिनेमा, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स, विराट सिनेमा, लालबन्दीको विणा सिनेमा, बुटवलको आईएनआई क्यूबक्स, भक्तपुरको कमलविनायक सिनेमा, बनेपाको शुभकामना हल, बर्दघाटको मोहिनी सिनेमा हल र गाईघाटको शुभलक्ष्मी सिनेमा हलबाट सिस्टममा ‘बगान’को कलेक्शन रिपोर्ट नआएको बक्स अफिस अधिकृत प्रविण पाण्डेले जानकारी दिए । त्यस्तै, विगत केहि दिनदेखि काठमाडौको कमलपोखरीस्थित बिग सिनेमाले पनि समयमा रिपोर्ट उपलब्ध नगराएको उनले बताए ।

यो चलचित्र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१