फिल्म‘नांगो गाउँ’को टिजर सार्वजनिक

काठमाडौ । भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको मल्टिस्टारर फिल्म ‘नांगो गाउँ’को टिजर सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको टिजरमा चुनावी सन्दर्भमा गाउँमा हुने राजनीतिक परिवेशलाई चित्रण गरिएको छ ।

टिजरले फिल्मका शीर्ष पात्रहरुको चरित्र स्थापना गरेको छ । जसअनुसार दयाहाङले पासाङ तामाङ नामक एक इमान्दार शिक्षकको भूमिका निर्वाह गरेका छन् । शिशिर बाङ्देलले जरी लामा नामक गाउँका अध्यक्षको भूमिका निर्वाह गरेका छन् । समग्रमा फिल्मको कथावस्तु यी दुई शीर्ष पात्रको वरपर घुम्छ ।

मिरुना मगरलाई फिल्ममा पासाङ (दयाहाङ)की पत्नीको भूमिकामा देखाइएको छ । साम्राज्ञी शाह र कार्म फिल्ममा जोडीको रोमान्टिक भूमिकामा छन् । राजनीतिले गाउँको विकास कसरी प्रभावित भएको छ र गाउँ नांगिएको छ भन्ने कथावस्तु फिल्मले प्रस्तुत गर्छ । द्वन्द्वको यो सिलसिलामा शिक्षक कसरी राजनीतिमा लाग्न बाध्य हुन्छ भन्ने चित्रण यसमा छ ।

फिल्ममा कमलमणि नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाइ जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टीका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायत कलाकारको अभिनय छ ।

निर्देशक लामाले आफ्ना अघिल्ला फिल्ममा जस्तै यसमा पनि ग्रामीण समाजको कथावस्तु, मानवीय मर्म र भोगाइका विषयवस्तुलाई चित्रण गरेका छन् । लामाले यसअघि ‘घामपानी, गोपी, छ माया छपक्कै, दुई नम्बरी’ फिल्म निर्देशन गरेका छन् ।

जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१