• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

त्रिभूुवन विश्वविद्यालयको छात्रावासमा आयोग र अस्पतालको रजाँई,छात्राहरु आन्दोलित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पढ्ने छात्राहरुको लागि बनाईएको छात्रावासमा सेवा आयोग,आँखा अस्पताल र ललितकला क्याम्पसले प्रयोग गर्दै आएका छन् । दर्जनौ वेथितिले पुरिएको त्रिविमा अध्ययरत छात्राहरुले यही कारण छात्रावासको प्रयोग गर्न पाएका छैनन् । बारम्बार आग्रह गर्दा पनि छात्रावास खालि नगरेपछि विद्यार्थीहरुले विरोधको अनोठौ शैलीको सहयोग लिएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पस प्रशासनलाई बारम्बार सेवा आयोगको भवन छात्रावासका लागि खालि गर्न आग्रह गर्दा नटेरेपछि बुधबार आन्दोलनरत विद्यार्थीहरुले नयाँ शैली अपनाए । छात्रावासका विद्यार्थी र विद्यार्थी युनियनले आयोगका कर्मचारीले प्रयोग गर्ने कुर्ची त्रिभुवन विश्वविद्यालयको रजिस्टार कार्यालयमा पुर्याएर विरोधको अनौठो शैली पेश गरेका छन् ।

‘पछिल्लो समय छात्रावासको अवस्था हेर्नुहुन्छ भने दिन प्रतिदिन जीर्ण बन्दै गैरहेको छ । छात्रा साथीहरु पानी चुहिने कोठामा बसेर पढ्न र बस्न बाध्य हुनुहुन्छ । सेवा आयोगको ध्यान नत रिक्त पदपूर्ति गर्नतिर गएको छ न छात्राको उचित व्यवस्थापन गर्नतिर गएको छ,’विद्यार्थी युनियनमा आवद्ध छात्रा पद्मा भुषालले भनिन् ।

उनले विश्वविद्यालय प्रशासन विद्यार्थीको समस्या संग जोडिनै नखोजेको र भएको भवन पनि ओगटेर उल्टो विद्यार्थीलाई दुःख दिने काममा प्रशासन उद्दत भएको बताइन् ।

त्रिवि परिसर भित्र छात्रावासको प्रयोजनको लागि भूकम्पपछि निर्माण गरिएको यो दुई तले भवनमा हाल त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय राखिएको छ । केही समयको लागि भनेर आयोगको कार्यालय सारिएको यो छात्रावासको भवनबाट कार्यालय हटाउनुपर्ने माग गर्दै विभिन्न विद्यार्थी युनियनले आवाज मात्रै उठाएनन् सम्बन्धित निकायलाई बारम्बार ध्यानाकर्षण पनि गराउँदै आएका छन् ।

तर, आयोगले कार्यालय सार्नुको साटो भएको मात्रै फेर्दै आएको भन्दै पीडित छात्रा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज कार्यालयको भवनमा राखेको कुर्ची विश्वविद्यालयको रजिस्टार कार्यालयमा पठाएर सांकेतिक र रचनात्मक विरोध गरे ।

विश्वविद्यालयको चरम राजनीतिमा छात्राको भविष्यलाई खेलवाड गर्न नदिने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)त्रिविका अध्यक्ष श्यामराज ओझाले तत्काल आयोगको भवन सार्न माग गरे ।

उनले भने, ‘आज हामीले त्रिविको सेवा आयोग अगाडि आएर त्रिविको सेवा आयोगको पदाधिकारी बस्ने केही कुर्चीहरुलाई सौहाद्र्धपूर्ण वातावरणमा त्रिभूवन विश्वविद्यालयको रजिस्टार कार्यालय जसले विविको सम्पति संरक्षण गर्छ,त्यहाँ पठाइदिएका छौं ।’

अध्यक्ष ओझाले विश्वविद्यालयमा अध्ययन गर्ने छात्राको लागि निर्माण गरिएको नयाँ भवनमा सेवा आयोगले लामो समयबाट भवन प्रयोग गर्दा छात्राहरु समस्यामा परेकाले उक्त भवन हटाउन आयोगलाई भनेपनि आयोगले नटेरेपछि आजको अवस्था आएको बताए ।

छात्रावासको लागि बनाएको भवनमा महिला छात्रा नै बस्ने व्यवस्था मिलाउनुपर्ने भन्दै उनले आक्रोश पोखे ।

उनले भने,‘अहिले केन्द्रीय क्याम्पस कीर्तिपुरमा लगभग ५७ सय विद्यार्थी छन् । ति मध्ये धेरै छात्राहरु छन् । उनीहरुले अहिले होस्टेल बस्ने सुविधा पाएका छैनन् । प्रतिवर्ष ६५ जनामात्रै होस्टेलमा बस्दै आएका छन् । उक्त सेवा आयोगको भवनलाई अन्यन्त्र सार्ने हो भने थप ६५ जना छात्रालाई बस्ने थप व्यवस्था हुन्छ ।’

तर,महिला छात्राको लागि बनाईएको होस्टेलको भवन प्रयोग गर्दै आएको आयोगले जेठ,असारको सर्ने भाका दिएर साउन भैसक्दा पनि नसारेको प्रति आक्रोश पोख्दै अनेरास्ववियु त्रिविका अध्यक्ष ओझाले आयोगलाई हटाएरै छाड्ने बताए ।

‘यो गल्र्स होस्टल हो,छात्रावासको लागि बनेको भवन हो यसमा छात्राहरु बस्न पाउनुपर्छ भनेर सेवा आयोगलाई निकाल्दिएको हो । अव हामी छिट्टै छात्राहरुलाई बस्ने व्यवस्थापन गछौं ।’

त्रिवि सेवा आयोगको अध्यक्ष पद विगत एक वर्षदेखि रिक्त छ ।

विश्वविद्यालयको सेवा आयोगले प्रयोग गर्दै आएको भवन मात्र नभइ कीर्तिपुरमा रहेको आँखा अस्पतालले प्रयोग गर्दै भवन पनि छात्रावासकै हो ।

पहिले छात्रावासको ‘ग’ र ‘घ’ ब्लकको संयुक्त मेस चल्ने संरचनामा अहिले अपरेसन थिएटरसमेत निर्माण गरिएको छ ।

यसबाहेक छात्रावासको ‘ग’ ब्लकमा लामो समयदेखि ललितकला क्याम्पसले स्नातक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । अहिले दुई जीर्ण भवन र एउटा नयाँ भवनमा गरी १ सय ६० हाराहारीमा छात्राहरूले जसोतसो सुविधा पाइरहेका छन्। तर,जुन उद्धेश्य र प्रयोजनका लागि छात्रावासका भवन निर्माण गरिएका हुन् । त्यसको औचित्य पुष्टि हुन नसक्दा विद्यार्थी मर्कामा परेका छन् ।