काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै संसद बैठक चलाउन नमानेको आरोप लगाएका छन् ।
बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक स्थगित गर्न लगाएको दाबी गरे ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्न्विटल सुन तस्करी भएको प्रकरणमा नेकपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । १० साउनको बैठकमा समिति गठनको माग गरेर एमालेले संसद अवरोध गरेको थियो । त्यसपछि १५ र १६ साउनमा बोलाएको बैठक पनि बस्न सकेन । एमाले अध्यक्ष ओलीले भने ती बैठक आफूहरुको कारण नभई सत्तापक्षकै कारण बस्न नसकेको दाबी गरे ।
मंगलबार पनि सत्तापक्षले सांसदहरुलाई बोल्न नदिने, सिधै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने प्रस्ताव गरेपछि आफूहरुले नमानेको ओलीले दाबी गरे । ‘हिजो हामीले बोल्न दिनुपर्छ उहाँहरु बोल्न दिन तयार हुनुभएन । एक जना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाँहिदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ । उसले भाषण गर्ने रे । अनि, सांसदहरुले बोल्न नपाउने रे’, ओलीले भने ।
एमाले अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको बताए । त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।
ओलीले उच्चस्तरीय छानबिन समिति बनाउँदैमा सरकारले गरिरहेको अनुसन्धान रोक्नु नपर्ने पनि बताए ।