• २०८३ असार १९
  • 2026 July 03, Friday

आज, भोलि र पर्सी देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना, नदीमा जलसतह उल्लेख्य बढ्ने

काठमाडौं । आज, भोलि र पर्सी देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज १० प्रमुख नदीका १४ सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी नदीका सहायक नदीहरू अरूण र दूधकोशीमा जलसतह उल्लेख्य बढ्ने छ। त्यस्तै नारायणी नदी र यसका सहायक नदीहरू मर्स्याङ्दी, सेती, कालीगण्डकी लगायतका नदीहरूमा जलसतह बढ्ने छ ।

कर्णालीको पश्चिम सेती, कन्काई, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा पनि जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ ।
जलसतह उल्लेख्य बढ्ने नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहाबको जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

साथै झापा, ईलाम, पाँचथर, तेहथुम, संखुवासभा, धनकुटा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, पर्सा, चितवन, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब. सु. प), रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, दार्चुला र आसपास भई बहने केहि स–साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

भोलि र पर्सी देशका अधिकांश नदीहरूको जलसतह उल्लेख्य बढ्ने र कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिमराप्ती, बबई र यसका केही स–साना सहायक नदी लगायत चुरे र तराई भई बहने केही साना नदीमा जलसतह सतर्कता तह पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ।

मौसमको न्यूनचापीय रेखा सरदरस्थानबाट नेपालतिर सरेकाले आगामी तीन दिन देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना छ। आजै ६ प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।